काठमाडौ, नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागी हुनका लागि आफ्नो तयारी गर्न सांसदहरुलाई निर्देशन दिएको छ।
शनिबार पार्टीको संसदीय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले पार्टीका सांसदहरुलाई प्रतिनिधिसभाको पहिलो बैठकमा उपस्थित हुन तयारीका लागि निर्देशन दिएको हो।
बैठकले प्रतिनिधिसभाको पहिलो बैठकमा केके हुन्छन् र सांसदहरुले के गर्ने भन्नेबारेमा पनि सांसदहरुलाई जानकारी गराएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए।
‘प्रतिनिधिसभाको नयाँ कार्यकाल शुरु हुनुपूर्व नेपाली कांग्रेस संसदीय दलको पहिलो बेठक बसेको छ। यो बैठक खास गरेर २५ गते प्रतिनिधि सभाको बैठकका लागि राखिएको हो।
२५ गते प्रतिनिधिसभाको पहिलो बैठक शुरु हुँदैछ। २५ गते के के कुरा हुन्छ भन्ने बारेमा साथीहरुलाई जानकारी दिइयो,’ लेखकले भने, ‘२६ गते प्रतिनिधिसभामा मान्य प्रधानमन्त्रीज्युले विश्वासको मत पेस गर्नुहुन्छ। २६ गतेको प्रक्रियाका बारेमा पनि जानकारी गराइयो।’
साथै संसदमा नेपाली कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिका र तयारीका बारेमा पनि सांसदहरुलाई जानकारी गराइएको उनले बताए।
उनले पुिस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने प्रक्रिया रहेकाले विश्वासको मत लिने प्रक्रियामा पार्टीका सांसदहरुले केके गर्ने भन्नेबारेमा पनि जानकारी गराइएको बताए।
पार्टीको संसदीय दलको अर्को बैठक पुस २६ गते बिहान ९ बजे बस्ने पनि उनले बताए। प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्नेबारेमा भने २६ गतेको संसदीय दलको बैठकले निर्णय गर्ने पनि बताए।
‘अर्को बैठक २६ गते बिहान बजे बैठक बस्छ। नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बस्छ। त्यही बैठकबाट हानमी विश्वासको मतका बारेमा निर्णय गर्नेछौँ ।
विश्वासको मत दिने नदिने भन्नेबारेमा विश्वासको मत लिने दिन नै काँग्रेसले निर्णय गर्ने परम्परा रहेकाले त्यही दिन निर्णय हुनेछ।’
कुनै नयाँ गठबन्धन बनाउने, बनेको गठबन्धन भत्काउने प्रयासमा कांग्रेस नलागेको पनि उनले बताए। ‘नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो राजनीतिक दल बनाएको जनतालाई धन्यवाद दिने निर्णय भएको छ।
पार्टीलाई जिताउने भुमिका निर्वाह गर्ने साथीहरुलाई धन्यवाद दिएका छौँ। यो बीचमा हाम्रो दुई जना नेताहरु दिवंगत हुनुभयो, संविधानसभा सदस्य र प्रतिनिधिसभाको पूर्वसांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति उहाँकाप्रति शोक प्रस्ताव पारित गरेका छौँ।’ प्रमुख सचेतक लेखकले सिंगो पार्टी एकबद्ध भएर प्रतिनिधि सभामा सशक्त भूमिका निर्वाह गर्ने बताए।
महामन्त्री गगन कुमार थापाले भने दाहाललाई विश्वासको मत नदिने र प्रतिपक्षीमा बस्ने बताएका छन्।
उनले आफ्नो व्यक्तिगत धारणा भएपनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताए।
उनले अन्य दलहरु मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे।
‘२६ गते जुन दिन संसदमा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौँ।
त्यो बैठकमा निर्णय गर्नेछौँ,’ महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस पार्टीले यो बेलामा संसद भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उम्मेदवार प्रस्तुत गरेपछि त्यहाँ विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन, हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो।
नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ, प्रतिपक्षमा बस्छ भन्ने कुरा स्पष्ट छ।’