प्रदेश १ मा मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई


विराटनगर, प्रदेश-१ मा मुख्यमन्त्री र सभामुखको भागवण्डा सकिएको छ, जसमा मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ । शनिबार साँझ शीर्ष नेताहरूबीच भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो । बाँकी प्रदेशको भागबण्डा भने आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरूको बैठकले टुंगो लगाउने नेताहरू बताउँछन् । प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म तोकिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते ७ दिनको समय राखेर दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए । एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रका संसदीय दलको नेता इन्द्रबहादुर आङ्बो एमालेले मुख्यमन्त्री लिने अनौपचारिक सहमति बनिसकेको बताउँछन् । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार आइतबार ४ बजे दाबी पेश गर्ने तयारी छ । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा गरी ६० सांसदको समर्थनमा उनले दाबी पेश गर्नेछन् ।


प्रकाशित मिति : २०७९ पुष २४, आईतवार ०८:१६

धेरै पढिएको

ताजा समाचार