कैलालीको टीकापुर आउँदै गरेको बस भारतमा दुर्घटना, ३ नेपाली सहित ४ को मृत्यु


कैलाली, भारतमा बस दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ।

उत्तरप्रदेशको उन्नाउ भन्ने ठाउँमा बस दुर्घटना हुँदा तीन जना नेपाली यात्रुको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा कैलालीको टीकापुर नगरपालिकाका रहेका छन्। टीकापुर–१ ज्योतिनगरका ४० वर्षीय ललित साउद, व्यवसाय क्षेत्र बस्ने ४५ वर्षीय चन्द्र साउदको सनाखत भएको छ। अर्की एक महिलाको पहिचान खुलेको छैन।

सो बस दुर्घटनामा एक जना भारतीय नागरिकको पनि ज्यान गएको छ। अन्य १७ जना घाइते भएका छन्। उनीहरुको भारतमै उपचार भइरहेको छ।

भारतको गुजरातबाट कैलालीको टीकापुरतर्फ आउँदै गरेको बस २३ पुस राति करिब १२ बजेतिर दुर्घटना परेको थियो।

मृतकका परिवार घटनास्थलतर्फ गएको स्थानीय प्रशासनले जनाएको छ। दुर्घटनाको कारण भने खुलेको छैन।


प्रकाशित मिति : २०७९ पुष २५, सोमबार ०६:०१

धेरै पढिएको

ताजा समाचार