जनताको विश्वासलाई खेर जान दिँदैनौँ : गृहमन्त्री लामिछाने


काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सरकारका गृहमन्त्री रवि लामिछानेले नेपाली जनताको आशाको मतलाई खेर जान नदिने बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सोमबार दलको तर्फबाट सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले सो कुरा बताएका हुन् । जनताले जानेर वा नजानेर असाध्य राम्रोसँग मतदान गरेको उनले चर्चा गरे । नयाँलाई अवसर र पुराना दललाई सचेत गराउने गरी मत आएको उनको भनाइ छ । जनमतअनुसारको सरकार निर्माण भएको बताउँदै गृहमन्त्री लामिछानेले भने , “सरकारको साझा न्यूनतम कार्यक्रम मार्फत जनताको अपेक्षा समाधान गर्नेछौँ, त्यही नै सही उपाय हो ।” जनजीविकाको सवालमा साझा न्यूनतम कार्यक्रमले सम्बोधन गर्ने उनले विश्वास व्यक्त गरे । संसद् प्रतिपक्षी दलको रहेकाले रचनात्मक सुझाव र अभियान चलाउन सके राम्रो हुन्छ भन्दै गृहमन्त्री लामिछानेले प्रतिपक्षी भड्काउने होइन, बनाउनेतर्फ पहल लिनुपर्ने बताए । यसअघिका तमाम बेतिथिको जबाफदेहिता जनताले खोजेको चर्चा गर्दै गृहमन्त्री लामिछानेले भने , “कुनै पनि कालखण्डका भ्रष्टाचारका विषय निर्ममतापूर्वक छानबिन गर्न हामी अग्रसर हुनेछौँ, सरकार निर्मम भएर खडा हुनेछ ।” जनप्रतिनिधिहरू जिम्मेवार हुन सकेमा जनताको अपेक्षा पूरा गर्न सहज हुने उनले बताए । आफ्नै समस्या, पिर मर्का र तानातानमा अल्झियौँ भने जनताको अपेक्षा पूरा हुँदैन चर्चा गर्दै गृहमन्त्री लामिछानेले गल्ती गर्नेलाई पुरापुर छानबिन गर्ने अवसर प्रदान गर्न र राजनीतिक रूपले छुटाउन लबिङ नगर्न आग्रह गरे । आफ्नोतर्फबाट कुनै अनियमितता नगर्ने र कुनै काण्डमा नफस्ने उनले बताए । जनताको सामु शिर झुकाउने काम नगर्ने उनले प्रतिबद्धता व्यक्त गरे । संसद्को गरिमामय अवस्थामा उपस्थित हुने अवसर प्रदान गर्दै उनले मतदातालाई धन्यवाद व्यक्त गरे । नेपालको राजनीतिमा नयाँ पार्टीको उदय ठूलो कुरा नभए पनि जनताको विश्वास आफूहरूले प्राप्त गरेको उनले चर्चा गरे । नेपालीको जनता र मुलुकको हितका लागि सांसदले सदुपयोग गर्ने विश्वास उनले व्यक्त गरे ।


प्रकाशित मिति : २०७९ पुष २५, सोमबार ०९:४२

धेरै पढिएको

ताजा समाचार