जनताको अपेक्षा अनुसार काम गर्नुपर्नेछ : अध्यक्ष ओली


काठमाडौं, नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी ओलीले जनतालाई परिवर्तनको अपेक्षा र आकाङ्क्षा रहेकाले सोअनुसार यो सरकार र संसद्सामु जिम्मेवारी रहेको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् । प्रतिनिधिसभा समक्ष धेरै ठूलो जिम्मेवारी आइपरेको चर्चा गर्दै अध्यक्ष ओलीले देश विकासको बाटोमा अग्रसर हुनुपर्ने, जनताको सेवामा अग्रसर हुनुपर्न, सामाजिक न्याय र समानतामा अग्रसर हुनुपर्ने दिशातर्फ राजनीतिलाई अघि बढाउने अभिभारा संसद्समक्ष भएको चर्चा गरे । “हाम्रा अगाडि राष्ट्रियताका जिम्मेवारी छन्, सांस्कृतिक पक्षको विकासका कुरा छन्, विविधताको मात्र कुरा गरेर हुँदैन, पुर्खाले स्थापित गरेको उन्नत सामाजिक सांस्कृतिक पक्षको प्रवर्धन गर्नुपर्नेछ” उनले थपे , “सांस्कृतिक मूल्य मान्यता बिर्सेमा समाज वास्तवमा समाज रहँदैन ।” मुलुकको राजस्व ऋणात्मक अवस्थामा रहेको चर्चा गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्यात गर्ने वस्तु घटेको र उद्योग बन्द भएको बताए । महँगी बढ्दो र जनजीवन कष्टकर भइरहेको अवस्थामा मुलुकलाई अगाडि बढाउने उत्तरदायित्व सरकार र सांसदसमक्ष भएको उनले चर्चा गरे । सरकारले भोलि विश्वासको मत लिने र विश्वासको मत प्राप्त हुने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई ज्ञापन गरे । परिस्थिति सहज नभएपनि जटिलताबीच काम गर्नुपर्ने अवस्था रहेको उनले बताए । मुलुकले परिवर्तन खोजेकाले सोहीअनुसार आफूहरूले काम गर्ने उनले हाँले प्रतिबद्धता व्यक्त गरे । सांसदहरू केवल सांसद हुनका लागि मात्र निर्वाचित नभएको बरु देश र जनताको पक्षमा, खुसीका निम्ति काम गर्न आएको उनले चर्चा गरे । “हाम्रा अगाडि भ्रष्टाचार नियन्त्रण, सामाजिक विभेद अन्त्य गर्ने, जनताको अपेक्षा पूरा गर्ने चुनौती छ” चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले भने , “हामी मुख्य रूपमा लोकतान्त्रिक पद्धति र प्रक्रियाका लागि काम गर्नुपर्नेछ, बन्न पाएको छैन बिगार्नतिर लाग्यौँ भने समयको बरबादी मात्र हुन्छ ।” अध्यक्ष ओलीले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा संसद् बैठकमा स्वागत गरे । सबै अग्रजप्रति सम्मान व्यक्त गर्दै उनले कृतज्ञताको भाव व्यक्त गरे ।


प्रकाशित मिति : २०७९ पुष २५, सोमबार ०९:५७

धेरै पढिएको

ताजा समाचार