सार्वभौम संसद्ले नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ : प्रधानमन्त्री दाहाल


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै हामी जनतामाझ फर्कन सक्ने अवस्थामा नभएको बताएका छन् ।

प्रतिनिधिसभाकोे दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा बिर्सिन नहुनेमा समेत जोड दिए ।

“हामी भर्खरै जननिर्वाचित भएका छौं । तर, जनताको हामीमाथिको समर्थन सशर्त छ ।” उनले भने , “हामी सुशासन दिन सक्छौं कि सक्दैनौं रु जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं रु यो संसद् हाम्रो परीक्षाको केन्द्र हो ।

जनताले हामीबाट असाधारण सङ्कल्पको अपेक्षा गरेको छ । हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं ।”

हजारौं शहीद, बेपत्ता, जेलनेल सहेका र घाइते अपाङ्ग नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट समावेशी संसद् बन्न सफल भएकोतर्फ इङ्गित गर्दै प्रधानमन्त्री दाहालले समावेशी संसद् बनेकोमा खुसी व्यक्त गरे ।

उनले भने, “विविधतामा एकता नै हाम्रो शक्ति हो । बहुजाति, बहुभाषी, बहुसांस्कृतिक, बहुधार्मिक र बहुभौगोलिक विशेषता भएको यो देशमा विविधताको सम्मान गर्न सके हामी एकतातिर जान्छौं, यसको सम्मानबिना कृत्रिम एकताको कुरा ग¥र्यौं भने विभाजनतिर जान्छौं ।”

फरक राजनीतिक दृष्टिकोण र पृष्ठभूमिबाट आएका भए पनि जनताप्रति गरिएका प्रतिबद्धता साझा भएकाले सबै एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए ।

“मलाई विश्वास छ, हामी प्रतिक्रिया होइन, क्रियाको राजनीति गर्नेछौं र साझा प्रतिबद्धतामा एक ठाउँमा उभिनेछौं ।” उनले भने , “भर्खर हामी जनताका बीचबाट आएका हौं ।

हामीलाई समस्याहरु केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोज्नु छ र समाधानतिर जानु छ ।”

सांसदहरुको मनमा नयाँ केही गर्ने आवेग र हुटुहुटी भएको बताउँदै उनले अब सबै मिलेर ‘केही हुँदैन’ भन्ने हीनभावनका ठाउँमा आशा र उत्साह जगाउनुपर्ने बताए ।

“राजनीतिलाई भावना र उत्तेजनाभन्दा पर आर्थिक समृद्धिमा केन्द्रित गर्नु छ । विभेद र बहिष्करणलाई अस्वीकार गर्दै राष्ट्रिय एकता बलियो बनाउनु छ ।” उनले भने , “आर्थिक क्रान्तिको साझा सङ्कल्प गर्दै समृद्ध र न्यायपूर्ण राष्ट्र निर्माण गर्नु छ ।”

व्यवस्थापिका संसद् सार्थक संवादको थलो बन्नेमा आशा व्यक्त गर्दै प्रधानमन्त्रीले सहमति र मतभेदहरु पनि मर्यादापूर्ण हुने विश्वास व्यक्त गरे ।

“कम्तीमा मेरो प्रयास र अपेक्षा यही हुनेछ ।” उनले बिट मार्दै भने , “यो सम्मानित र सार्वभौम संसद् नेपाली इतिहासको नयाँ भाष्य रच्न सफल हुनेछ भन्ने विश्वासका साथ सबै माननीय सदस्यलाई फेरि एकपटक बधाई दिँदै बिदा हुन्छु ।”


प्रकाशित मिति : २०७९ पुष २५, सोमबार १०:०२

धेरै पढिएको

ताजा समाचार