प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै


काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले आज बिहान ११ बजे बस्ने संसद् बैठकमा विश्वासको मत लिँदैछन् । १० पुसमा प्रधानमन्त्रीमा नियुक्त भएमा उनले एक महिना अगावै विश्वासको मत लिन लागेका हुन् । दाहाल १० पुसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । गठबन्धन सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । २७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन पाउनुपर्छ । प्रधानमन्त्री दाहालले आफूले विश्वासको मत पाउने दाबी गर्दै आएका छन् । उनले सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ‘सिङ्गै हाउस विश्वासको मतमा उभिने’ दाबी गरेका थिए । साथै, दाहाललाई प्रधानमन्त्री बन्न समर्थन नगरेका र सरकारमा सहभागी नभएका अन्य दलहरूले पनि विश्वासको मत दिने आश्वासन दिएका छन् । सोमबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने आश्वासन दिएका छन् । दाहाल विश्वासको मत माग्न सोमबार साँझ देउवा निवास धुम्बाराहीमा पुगेका थिए । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने/नदिने औपचारिक निर्णय भने आज बिहान बस्ने संसदीय दलको बैठकले गर्नेछ ।


प्रकाशित मिति : २०७९ पुष २६, मंगलवार ०२:५५

धेरै पढिएको

ताजा समाचार