काठमाडौं, आज प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका प्रधानमन्त्री पुष्पकमल दाहालले दुई तिहाइको समर्थन पाउने देखिएको छ।
प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अधिकांश राजनीति दल र स्वतन्त्र सांसदले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेपछि दुई तिहाइ मत पाउने निश्चित देखिएको हो।
संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुईभन्दा बढी दलको समर्थनमा पुस १० मा प्रधानमन्त्री नियुक्त भएका दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन्।
नेकपा एमाले नेतृत्वको सात दलिय गठबन्धनमै सुविधाजनक बहुमत छ। दाहाललाई उनकै पार्टी माओवादी ३२, संसद्को दोस्रो ठूलो दल एमाले ७९, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, जनमत पार्टी ६, नागरिक उन्मुक्ति पार्टी ४ र अन्य दुई स्वतन्त्र सांसदले विश्वासको मत दिने निर्णय गरिसकेका छन् ।
१० सिट रहेको एकीकृत समाजवादी र ४ सिट रहेको लोसपाले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८३ सदस्य चाहिन्छन्। एकीकृत समाजवादी र लोसपाको मत जोड्दा दुईतिहाइ पुग्छ।
यदि नेपाली कांग्रेसले पनि मत दिएमा राष्ट्रिय सहमतिको सरकार बन्ने छ। कांग्रेस विना नै दाहालले दुई तिहाइ मत पाउने निश्चित देखिएको छ।
विश्वासको मत दिने नदिनेबारे छलफल गर्न कांग्रेसको कार्यसम्पादन समिति बैठक बसिरहेको छ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई विश्वासको मत दिने निर्णय गर्न लागेपछि युवा नेताहरूले विरोध गरेका छन्।
देउवा पक्षकै नेताहरूले पनि पार्टी अहिलेको राजनीतिक परिवेशबमोजिम प्रमुख प्रतिपक्षको भूमिकामा रहनु उपयुक्त हुने दाबी गरेका छन्।