आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा


काठमाडौ, प्रत्येक वर्ष २७ पुसमा मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।

२७ पुस १७७९ मा गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायणको जन्म भएको थियो । उनी चैत २५ १७९९ मा राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो ।

राजा भएपछि पृथ्वीनारायण पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न सफल भएका थिए ।

पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ ।

पृथ्वीनारायणले वि।सं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि उनले १८२६ सालमा काठमाडौं उपत्यकामा विजय हासिल गरेका थिए ।

नेपाल उपत्यका विजय गरेपछि शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।

सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।

यस अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।


प्रकाशित मिति : २०७९ पुष २७, बुधबार ०२:२१

धेरै पढिएको

ताजा समाचार