काठमाडौ, नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनले सत्ता साझेदार जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई भेटेका छन्।
एकजना विनाविभागीय मन्त्री अब्दुल खानसहित सरकारमा गएको जनमत पार्टीले मंगलबार संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो।
दाहालले विश्वासको मत लिएको भोलिपल्ट राजदूत थम्पसनले बुद्धनगरस्थित जनमत पार्टी कार्यालयमा पुगेर राउतसँग वार्ता गरेका हुन्।
थम्पसनसँग भेटघाटका क्रममा दुई देशबीच विकास सहकार्यबारे चर्चा भएको जानकारी राउतले दिएका छन्।
तर, दुवै पक्षले भेटमा भएको विस्तृत कुराकानीको विवरण सार्वजनिक गरेका छैनन्। दाहाल नेतृत्वको सरकार बन्नुअघिदेखि नै थम्पसन नेपालका राजनीतिक दलका नेताहरुसँग बाक्लो भेटघाटमा थिए।