धनगढी, सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र सिंह रावल नियुक्त भएका छन् । २९ सांसदको समर्थनसहित बुधबार साँझ दाबी पेस गरेसँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावलले एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्ति र राप्रपा गरी २९ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ ।
जसमा मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १ सांसद गरी २९ जनाको सहमतिमा मुख्यमन्त्रीमा रावल नियुक्त भएका हुन् ।
२९ सांसदसहित रावलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेलगत्तै प्रदेश प्रमुख जोशीले रावललाई मुख्यमन्त्रीको प्रमाणपत्र प्रदान गरेका छन् । मुख्यमन्त्री रावलको भोलि मात्र शपथ लिने कार्यक्रम रहेको छ ।
केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालैपालो गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार एमालेले मुख्यमन्त्री दाबी गर्दा सभामुख माओवादीको भाग परेको छ ।
माओवादीको भागमा परेको सभामुखमा भीमबहादुर भण्डारीले उम्मेदवारी दर्ता गरी सकेका छन् । नेपाली कांग्रेसबाट सभामुखमा मानबहादुर रावलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।