काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसले विश्वासको मत दिएको विषयमा जिज्ञासा राखेका छन् ।
बुधबार अपराह्न भएको छलफलमा ओलीले दाहाललाई यस्तो प्रश्न गरेका हुन् । गोरखाबाट फर्किएलगत्तै प्रधानमन्त्री दाहाल ओलीसँग सरकार विस्तारका बारेमा छलफल गर्न बालकोट पुगेका थिए ।
सो भेटमा ओलीले कांग्रेसले मत दिएको विषयमा संशय व्यक्त गरेका हुन् ।
ओलीको जिज्ञासामा स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले आफूले स्थायित्वका निम्ति विश्वासको मत मागेको र प्रधानमन्त्रीले प्रतिपक्षी दलको नेतासँग विश्वासको मत माग्ने परम्पराअनुसार मत मागेको बताएका थिए ।
भेटमा मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रममा समेटिएका एजेण्डा कार्यान्वयनका विषयमा छलफल भएको थियो ।
ओलीले एमाले नेतृत्वको गठबन्धनसँग स्पष्ट बहुमत रहेको भन्दै जनताका आकांक्षाअनुरुप सरकारले कामकारबाही अगाडि बढाउनुपर्ने बताएका थिए।
सत्तारुढ दलहरूबीच सहमति गरेर छिट्टै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा उनको जोड थियो।
मंगलबार संसदमा प्रधानमन्त्री दाहालले विश्वासको मत मागेका थिए। सोहीबमोजिम उनलाई कांग्रेससहित १० दलले समर्थन गरेका थिए ।
प्रधानमन्त्री दाहालको पक्षमा २६८ मत खसेको थियो भने विपक्षमा दुई मत मात्रै खसेको थियो।