प्रदेश १ मा सभामुखको निर्वाचन आज, माओवादीका गौतमको एकल उम्मेदवारी


विराटनगर, प्रदेश १ को सभामुखको निर्वाचन आज हुने भएको छ । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको एकल उम्मेदवारी परेकाले उनी नै निर्विरोध निर्वाचित हुनेछन् ।

सभामुखको निर्वाचनका लागि आज बिहान ११ बजे प्रदेश सभा बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन छ ।

५० वर्षीय गौतम ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष विजयी भएका थिए । प्रमाणपत्र तहसम्मको अध्ययन गरेका उनले माओवादी जनयुद्ध लडेका थिए ।

प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । प्रदेश १ को उपसभामुखको निर्वाचन भने ३० पुसका लागि तोकिएको छ ।

सत्तारुढ गठबन्धनबीच भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री र उपसभामुख एमालेको भागमा परेको छ ।


प्रकाशित मिति : २०७९ पुष २८, बिहीबार ०९:११

धेरै पढिएको

ताजा समाचार