विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न संघले गरेको पहल सफल


गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गरि एक दशक भन्दा बढी समयदेखि संघले गरि आएको पहलले सार्थकता पाएको बताउनु भएको छ ।

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले संघले लगातार नेपाल सरकार र सम्बन्धित निकायसंग गरेको पहलले मुर्तरुप लिएको बताउनु भएको हो । आप्रबाशनलाई सुरक्षित र मर्यादित बनाउने पछिल्लो यो कदम प्रभावकारि हुने उहाँको भनाइ छ । संघले सरकारसंग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो । सरकारले कार्यविधि ल्याएसंगै बैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिक रुपमा जोडिन बाटो खुलेको भन्दै थापाले सरकारले गरेको यो निर्णयले बिदेशमा रहेका श्रमिकलाई राहत मिलेको बताउनुभयो ।


अध्यक्ष थापाले भन्नुभयो, “संघकै तर्फबाट पटकपटक सामाजिक सुरक्षा कोष हुनुपर्छ भन्ने विषयको उठान गर्दै आएको थियो । त्यसको सम्बोधन नेपाल सरकारले गरेको महसुस हामीले गरेका छौं ।”

हाल, वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउँदै अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि नेपाल सरकारसंग संघले सहकार्य समेत गरिरहेको भन्दै अध्यक्ष थापाले आगामी दिनमा पनि नेपाल सरकारसंग सहकार्य र समन्वय गरी यो कार्यको प्रचार प्रसार, अभिमुखीकरण एवं समयसापेक्ष योजना बनाई त्यसको कार्यक्रम गर्ने लगायतका कार्यमा हामी नेपाल सरकारको सहयात्री बन्ने बताउनुभयो । कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा बस्ने नेपालीलाई योगदानमा आधारित कोषमा आवद्व हुन आवहान गर्नु भयो ।

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएको निरन्तर सहकार्य र पहलको लागि धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो । उहाँले यस कार्यकमा सहयोग गर्नु हुने संघका पदाधिकारीहरु लगायत सम्पूर्ण अग्रज तथा अभियन्ताहरु प्रति हार्दिक धन्यवाद प्रकट गर्नु भयो । कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिहरु, सरकोकारवालाहरु, संचारकर्मीहरु लगायत गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो ।

प्रेस नोट

२० डिसेम्बर २०२२ का दिन सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि तयार गरी सार्वजनिक गरेको प्रति हार्दिक आभार प्रकट गर्दछौं ।

जब नेपालमा सामाजिक सुरक्षा कोषको स्थापना भयो त्यो भन्दा पहिले देखि नै गैरआवासीय नेपाली संघले यस कोषमा विदेशमा रहेका नेपालीलाई पनि समेटिनु पर्छ भनेर वकालत तथा पैरवी गर्दै आएको थियो । ओमानमा हजारे अभियानको प्रस्तावमाथि बृहत छलफल गर्दै यो अभियान प्रारम्भिक रुपमा सुरु भई पहिलो संविधानसभाबाट वैदेशिक रोजगारमा गएकाहरुलाई समेट्नेगरी प्रस्ताव पारित गराएका थियौ र यस कार्यका लागि तत्कालीन प्रधानमन्त्री र अर्थ मन्त्रीलाई संघको तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।

यस विषयमा संघले जिम्मै लिएर सरकारसंग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो । साथमा संघमा विशेषगरी भारतसहित, मध्य पूर्व अनि अन्य श्रम बजारमा रहेका रहेका नेपाली श्रमिकको आवाजको प्रतिनिधित्व संघले गरेको थियो । आज एक दशकभन्दा बढी समयपछि त्यो छलफल र संघको पहलले मूर्त रुप लिएको छ ।

वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिक रुपमा जोडिन बाटो खुलेको छ । यो हाम्रो लागि गौरवको कुरा हो । त्यसो त, संघकै तर्फबाट पटकपटक सामाजिक सुरक्षा कोष हुनुपर्छ भन्ने विषयको उठान गर्दै आएको थियो । त्यसको सम्बोधन नेपाल सरकारले गरेको महसुस हामीले गरेका छौं ।

सन् २०१३ गैरआवासीय नेपाली संघ ओमानमा हजारे अभियानको प्रस्तावनामाथि बृहत छलफल गर्दै यो अभियान प्रारम्भिक रुपमा सुरु भएको थियो । नेपाल सरकार र सरोकारवालाहरुसंग विभिन्न चरणमा छलफल भई सन् २०१६ मा सुरक्षाकोषमा सहकार्य गर्न संघ र सरकार बीच सम्झौता भयो । त्यही वर्ष कर्मचारी सञ्चय कोषसंग पनि सम्झौता भएको थियो ।

क्रमश सन् २०१७ देखि २०२१ सम्म पनि नेपाल सरकारका प्रधानमन्त्रीज्यूहरुले यस अभियानमा सहमति जनाउनु भएको यति लामो पहल र प्रयासपछि अहिले २०२२ को अन्त्यमा आएर यो अभियानले सफलता पाएकोमा संघ नेपाल सरकार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ ।

हाल, वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउदै यस प्रणालीलाई समतामूलक र समाजवाद उन्मुख अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि नेपाल सरकारसंग संघले सहकार्य समेत गरिरहेको छ ।

आगामी दिनमा पनि नेपाल सरकारसंग सहकार्य र समन्वय गरि यो कार्यको प्रचार प्रसार, अभिमुखीकरण एवं समयसापेक्ष योजना बनाई त्यसको कार्यक्रम गर्ने लगायतका कार्यमा हामी नेपाल सरकारको सहयात्री बन्न चाहन्छौं र सरकारले संघप्रति गरेको विश्वास र हामीले सरकारमाथि गरेको भरोसा मिलाएर यो अभियानलाई सफल बनाउन संघ प्रतिबद्ध छ ।

अन्त्यमा, एनआरएनएको लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्यायको सुरुवात पनि हो । यस महान कार्यलाई सफल बनाउन भूमिका खेल्नु हुने नेपाल सरकार, सरकारी अधिकारीहरु, सरोकारवालाहरु, सम्पुर्ण गैरआवासीय नेपाली अभियन्ता तथा अग्रजहरु, सञ्चारकर्मी एवं सम्बन्धित सबैलाई धन्यबाद दिन चहान्छौं ।

 

डि.बि क्षेत्री,

उपाध्यक्ष तथा प्रमुख, वैदेशिक रोजगार विभाग

गैरआवासीय नेपाली संघ ।

मितिः २१ डिसेम्बर २०२२


प्रकाशित मिति : २०७९ पुष ७, बिहीबार ०८:२६

धेरै पढिएको

ताजा समाचार