राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दिएको ७ दिनको समयसीमा आइतबार सकिदै छ । आउँदो आइतबार साँझ ५ बजेभित्र प्रधानमन्त्री पदको दाबी गर्न समय दिइएको छ । नयाँ सरकार गठनका सम्बन्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलका लागि दुई पार्टीका अध्यक्ष बालुवाटार पुगेका थिए । एकीकृत समाजवादीका अध्यक्ष नेपाल प्रचण्डभन्दा केही ढिला बालुवाटार पुगेका थिए । देउवा, प्रचण्ड र नेपालबीच सरकार गठन र शक्ति बाँडफाँटकालगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ । त्यसअघि बसेको पार्टीको पदाधिकारी र संसदीय दलको बैठकमा प्रचण्डले सरकार गठन र शक्ति बाँडफाँटका विषयमा छलफल हुने बताएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने दाबी गरेका छन् । प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने बताएका हुन् । ‘यही गठबन्धनको सरकार बन्छ,’ प्रचण्डले भने । अबको भावी प्रधानमन्त्री को बन्छ त ? भन्ने प्रश्नमा प्रचण्डले छोटो उत्तर दिए, ‘हामी सल्लाह गर्दै छौं ।’
माओवादी संसदीय दलको नेतामा प्रचण्ड सर्वसम्मत
नेकपा माओवादी केन्द्र संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत चयन भएका छन् । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकबाट प्रचण्ड सर्वसम्मत दलको नेता चयन भएका हुन् । दलको प्रमुख सचेतकमा हितराज पाण्डे चयन भएका छन् । यस्तै राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् । माओवादी केन्द्रमा ३२ सांसद छन् । संसदीय दलको बैठक अघि माओवादी पदाधिकारी बैठक बसेको थियो । बैठकमा सत्तासमीकरण, आगामी रणनीतिलगायत विषयमा छलफल भएको थियो ।
राष्ट्रपति बन्न इच्छा छैन : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिका लागि आफू आकांक्षी नरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा सदस्यको शपथग्रहणपछि संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले २०६४ साल र २०७२ सालमा आफूलाई राष्ट्रपतिको लागि प्रस्ताव गर्दा आफूले नै अस्वीकार गरेको बताए । उनले त्यतिबेला उमेर नपुगेकाले आफूले अस्वीकार गरेको बताए । उनले आगामी दिनमा राजनीतिले मागेको अवस्थालाई मध्यनजर गरेर आवश्यकताको पद लिने बताए ।
उनले भने, ‘हामीले छलफल प्रारम्भ गरेकै छैनौं । यो गठबन्धन कायम रहन्छ, पावर शेयरिङ सिद्धान्तको आधारमा परिस्थितिले माग गरे बमोजिम हुनेछ । राष्ट्रपति बन्ने आकंक्षा भएको भए २०६४ सालमा नै मलाई राष्ट्रपतिको निम्ति प्रश्ताव भएको थियो । २०७२ मा पार्टीबाट नै प्रस्ताव भएको थियो । मैले अस्वीकार गरेको हो । त्यतिबेला मैले मेरो उमेर पुगेको छैन भनेको हो ।’ अध्यक्ष नेपालले आवश्यक परेको खण्डमा सबै पदका लागि आफू तयार रहेको पनि बताए ।
एमाले केन्द्रीय सचिवालय बैठक बालकोटमा, समसामयिक विषयमा छलफल
नेकपा एमाले केन्द्रीय सचिवालयको पन्ध्रौं बैठक बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछिको परिणाम र आगामी योजना बारे छलफल भएको एक नेताले बताए ।
चौंथो शक्तिका रूपमा हामी पनि सरकारमा दाबी गर्न सक्छौं : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारको नेतृत्वका लागि दाबी गर्ने संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले पनि प्रतिनिधिसभामा चौंथो ठूलो दलको हैसियतले सरकारको नेतृत्वका लागि ठूला दलहरूसँग छलफल चलाइएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा सदस्य पदको शपथ ग्रहण गरेपछि सभापति लामिछानेले सरकार बनाउने कुरा संविधानसम्मत ढंगले अघि बढ्ने बताए । उनले संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा आफूहरू सचेत रहने बताए ।
‘अब आमनागरिकले मतदान दिएर विश्वास गरेर पठाइसकेपछि जनमतको कदर नगर्ने भन्ने कुरै भएन । हाम्रो नेतृत्वमा सरकार बन्ने वातावरण बन्यो भने त्यसमा पनि छलफल नचलाएको होइन । हामीलाई प्राप्त जनमत सरकार बनाउन पुग्नै छैन । यद्यपि, कसैलाई पनि बहुमत नआएको परिवेशमा चौथो ठूलो दलको रूपमा हामीेले पनि नेतृत्व गर्न सक्छौँ कि भन्ने विषयलाई हामीले एकदमै सामान्य छलफलको विषय बनाएका छौं । बाँकी हेर्दै जाऊँ । किनभने जनमत प्राप्त भएको ठूलो राजनीतिक दलले नै सरकार चलाउने हो । अब संवैधानिक व्यवस्थाअनुसार नै अगाडि बढ्नुपर्ने हुन्छ । सरकार बनाउने कुरामा संसद् अनिर्णयको बन्दी नबनोस् भन्ने कुरामा पनि हामी सचेत हुनुपर्छ ।’
लामिछानेले अदालतमा विचाराधीन अवस्थामा रहेकाले आफ्नो नागरिकतासम्बन्धी विवादका विषयमा भने बोल्न नमिल्ने बताएका छन् । अदालतको फैसलाअनुसार नै आफूले प्रतिनिधिसभा सदस्यमा उठेको र शपथग्रहणसमेत गरेको स्मरण गराउँदै उनले नागरिकता विवादको विषयमा आफूलाई अदालतले न्याय दिने विश्वास समेत व्यक्त गरेका छन् ।
सरकार बनाउने समयसीमा सकिदैं, के छ दलहरुको तयारी ?
प्रकाशित मिति : २०७९ पुष ८, शुक्रबार ०७:००
सम्बन्धित खवर
© 2023: Moon Light Khabar मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal