सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन
काठमाडौं(जस)–नयाँ सरकार गठनलागि राष्ट्रपतिले दिएको समयमसीमा आइतबार सकिदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । तर, सरकार गठनका लागि तयारी गरिरहेका दलहरुमा नेतृत्व कसले लिने भन्ने विवाद नटुंगिदा शनिवारसम्म पनि अलमल कायमै रह्यो । गठबन्धनका प्रमुख दुई दल काँग्रेस र माओबादीले सरकारको नेतृत्व आफुले पाउनुपर्ने दाबी गरेपछि नयाँ सरकार गठनामा अन्योलता देखिएको छ । नयाँ सरकार कहिले बन्छ भन्ने प्रशनमा सरकारका प्रवक्ता समेत रहेका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीमा हलो नअड्कने दाबी गरे ।
शनिबार बालुवाटारमा शक्ति बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठकपछि मन्त्री कार्कीले आउँदो दिनमा गठबन्धनकै सरकार बन्ने दाबी गरे । उनले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र छलफल जारी रहेको र कुनै विवाद नरहेको पनि बताए । उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको दावी गरे ।
‘आइतबारसम्म तपाईंहरु धैर्य गर्नुस्, आलोपालो प्रधानमन्त्रीमा कसले पहिला नेतृत्व गर्ने भन्नेमा हलो अड्किदैन’, कार्कीले थपे, ‘प्रधानमन्त्री को पहिला हुने भन्ने कुरा गौण हो । मुलुकलाई जनताको आकांक्षा अनुसार कसरी अघि बढाउने भन्ने महत्वपूर्ण कुरा हो । त्यसैले गठबन्धनकै नेतृत्वमा सरकार निर्माण हुन्छ ।’ उनले छलफल जारी रहेकाले आइतबार निर्णयमा पुग्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निर्णय गरिने बताए ।
उनले बैठकमा मुलुकलाई अघि बढाउने विषयमा दलहरूले धारणा राखेको भन्दै बैठक सकारात्मक ढङ्गले अघि बढेको बताए । तर, प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको थियो । कार्कीका अनुसार आइतबार पुनः बैठक बस्ने गरी शनिबारको बैठक सकिएको हो । आगामी दिनमा कसरी जाने भन्नेबारेमा शनिबारको बैठकमा छलफल हुने उनले बताए । कार्कीका अनुसार आइतबार बिहान बैठक बसेर निर्णय लिइनेछ । उनले सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्ने पनि बताए । कार्कीले नयाँ सरकार गठनका लागि गठबन्धनभित्र कुनै विवाद नरहेको दावी गरे । उनले जनताको अभिमतलाई सम्मान गर्दै गठबन्धनको सरकार बनाउने सहमति भएको उल्लेख गर्दै कसले नेतृत्व गर्ने भन्ने विषय आइतबार बस्ने बैठकले टुंगो लगाउने बताए ।
कांग्रेसले थाल्यो हस्ताक्षर संकलन
सरकार गठनका लागि नेपाली कांग्रेसले हस्ताक्षर संकलन थालेको छ । राष्ट्रपतिले दिएको एक साताको समय सीमा सकिन लाग्दा समेत गठबन्धन दलहरुबीच नयाँ सरकार गठनबारे सहमति जुट्न नसकिरहेका बेला कांग्रेसले हस्ताक्षर संकलन शुरु गरेको हो । शनिबार बैठक बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । बाँकी सांसदहरूलाई हस्ताक्षर गर्न शनिबार बैठक बोलाइएको स्रोतको दावी छ । कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ । विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् ।
कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् । कांग्रेस सांसद सञ्जय गौतमले हरेक राजनीतिक दलमा संसदीय दलले आफ्ना सदस्यको हस्ताक्षर सङ्कलन गरेर राख्ने र आवश्यक परेको बेला प्रयोग गर्ने प्रचलन अनुसार हस्ताक्षर लिएको उल्लेख गरे । त्यस्तै, कांग्रेसका अर्का सांसद दुर्लभ थापाले पनि आफूहरूले शुक्रबार नै संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर बुझाएको जानकारी दिए । यता कांग्रेस सँगसँगै नेकपा माओवादी केन्द्रले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन थालेको छ । अर्थमन्त्री जर्नादन शर्माका अनुसार माओवादीका सांसदहरूले हस्ताक्षर बुझाइसकेको बताए । सङ्घमा माओवादीका ३२ जना सांसद रहेका छन् ।
दुवै पार्टीले आ–आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गरिरहँदा गठबन्धन दलको बैठक अनिश्चित भएको छ । शनिबारका लागि बैठक बस्ने भनिए पनि अहिलेसम्म बैठक बस्ने नबस्नेबारे निश्चित नभएको माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताएका छन् । त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पनि अहिलेसम्म बैठक बस्ने टुंगो नभए पनि साँझसम्म छलफल हुनसक्ने जानकारी दिएको छ ।
छलफल भइरहेको छ : प्रवक्ता महरा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले सरकार गठनका लागि माओवादी केन्द्र र नेकपा एमालेबीच पनि छलफल भइरहेको बताएका छन् । एमालेसँग सरकार गठनका लागि छलफल भए पनि नयाँ सरकार भने गठबन्धनकै बन्ने उनले बताएका छन् । प्रेस सेन्टर बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले राष्ट्रपतिले दिएको समयसीमा आइतवारसम्म सरकार गठनका लागि गठबन्धनभित्रै सहमति जुट्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादी केन्द्रको दाबीमा अहिलेसम्म सहमति नजुटेको उनको भनाइ छ । उपाध्यक्ष महराले समाजवादी विचारधारा राख्ने बाम र गैरबाम पार्टीको संयुक्त मोर्चा बनाउन ५÷६ वटा राजनीतिक पार्टीसँग सकारात्मक छलफल अघि बढेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग
नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन् । प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएकोे सांसद चन्दा चौधरीले जानकारी दिए । जवाफमा प्रधानमन्त्री देउवाले सांसदले उठाएका मागलाई गम्भीरतापूर्वक लिँदै त्यसबारे जानकारी गराउने बताए । प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ ।