संसद वैठक आह्वान, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पनि लिने


राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठक आह्वान गरेकी छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि राष्ट्रपति भण्डारीले आउँदो पुस २५ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै संसद बैठक आह्वान हुने बताएका थिए । गत पुस ७ गते संसदका ज्येष्ठ नागरिक पशुपति शम्शेर राणाले नव निर्वाचित सांसदहरूलाई शपथ खुवाएका थिए । मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रपति भण्डारीले १३ दिनको समय राखेर संसद बैठक आह्वान गरेकी हुन् । ४ मंसिरको चुनाव सम्पन्न भएपछि पहिलो पटक संसद बैठक बस्न लागेको हो ।
यही बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिने तयारी छ । संविधानको धारा ७६ (२) अनुसार बनेको दाहाल सरकारले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । संसदमा प्रधानमन्त्रीले कम्तिमा बहुमत (१३८) पाउनु पर्ने हुन्छ । दाहाल सरकारलाई अहिले प्रतिनिधि सभाका १६९ सांसदको समर्थन रहेको छ ।
गुरुङको सांसद पद निलम्बन
सङ्घीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई निलम्बन गरेको छ । सचिवालयले मङ्गलबार सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो । गुरुङलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको र सोही आधारमा यस्तो निर्णय लिइएको संसद् सचिवालयले जनाएको छ ।
‘प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङउपरको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखी पठाउने’ व्यहोराको अख्तियारको पत्र पुस ८ गते संसद् सचिवालयमा आइपुगेको थियो । गुरुङविरुद्ध अख्तियारले २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दायर गरेकोमा अहिले त्यो विशेष अदालतमा विचाराधीन छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम भ्रष्टाचार कसुरको आरोप लागेको व्यक्ति सार्वजनिक पद धारण गर्न नमिल्ने भन्दै गुरुङलाई निलम्बन गरिएको हो ।


प्रकाशित मिति : २०७९ पुष १३, बुधबार ०५:१६

धेरै पढिएको

ताजा समाचार