प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको आज शपथग्रहण हुने भएको छ । सपथग्रहणको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संघीय संसद् सचिवालयले जनाएको छ । नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नव निर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।
शपथ ग्रहणका लागि सांसद निर्वाचित भएको प्रमाणपत्र लिएर आउन अनुरोध गरिएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नव निर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । शपथ गराए लगत्तै सांसदलाई संसद्को लोगोसमेत प्रदान गरिने कार्यक्रम रहेको पनि उनले बताए । शपथका लागि सचिवालयले नेपाली भाषामा शपथ वक्तव्य तयार पारिसकेको छ । मातृभाषामा शपथ लिन चाहने सांसदलाई बिहीबार बिहान ११ बजेसम्मको समय दिइएको छ । शपथ ग्रहण र लोगो प्रदान गर्ने कार्यक्रम सकिए लगत्तै नव निर्वाचित सांसदको सम्मानमा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान कार्यक्रममा राष्ट्रियसभाका सांसदलगायत अतिथिलाई बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रपतिद्वारा ज्येष्ठ सदस्य राणालाई शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष राणाले शपथ लिएका हुन् । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । राणा प्रतिनिधिसभाको ज्येष्ठ सदस्य छन् । नागरिकताको प्रमाणपत्र अनुसार, उनको जन्म विसं १९९८ मङ्सिर २४ गते रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ । सभामुखको चयन नहुँदाका बखत प्रतिनिधिसभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ दिलाउने व्यवस्था छ । सो व्यवस्थाअनुरुप ज्येष्ठ सदस्य राणाले नयाँ बानेश्वरस्थित संसद् भवनमा नवनिर्वाचित अन्य सदस्यलाई यही पुस ७ गते दिनको १ बजे शपथ गराउने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
राणाद्वारा पदबहाली
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बुधबार सिंहदरबारस्थित संसद् सचिवालयमा गई पदबहाली गरेका छन् । ज्येष्ठ सदस्य राणाले बिहीबार प्रतिनिधिसभामा नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउनुहुने कार्यक्रम छ । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशको भलोका लागि सन्तुलित रूपमा निष्पक्ष भएर काम गर्ने बताए ।
बहुदलीय प्रजातान्त्रिक संसदीय शासन व्यवस्थालाई अघि बढाउन अभिभावकका रूपमा भूमिका निर्वाह गर्न लागिपर्ने ज्येष्ठ सदस्य राणाले जानकारी गराए । उनले बुधबारै शीतल निवासस्थित राष्ट्रपति कार्यालय पुगेर शपथ ग्रहण गरेका थिए ।
प्रतिनिधिसभा बैठक सुरु भएर सभामुखको निर्वाचन नभएसम्म उनले सभाको कारबाही अघि बढाउनेछन् । सभामुखको निर्वाचन भएपछि ज्येष्ठ सदस्यको अवधि समाप्त हुनेछ । ज्येष्ठ सदस्य राणाले बिहीबार अपराह्न १२ ः ५ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउन महासचिव भरत गौतमले तयार पारेको प्रस्तावमा स्वीकृति दिएर बुधबारैदेखि कार्य आरम्भ गरेका छन् ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथ आज
प्रकाशित मिति : २०७९ पुष ७, बिहीबार ०८:०४
सम्बन्धित खवर
© 2023: Moon Light Khabar मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal