कम्युनिष्टहरूको एउटै केन्द्र आवश्यक : प्रधानमन्त्री दाहाल


काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालका सच्चा कम्युनिष्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा बहुमतका संयोजक धमेन्द्र बाँस्तोला ‘कञ्चन’ को नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । ‘

संविधानमा समाजवादोन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन । नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस छलफल चलिरहेको छ।

नेपालमा रहेका सबै कम्युनिष्ट पार्टीहरूबीच अहिले छलफल सुरू भएको छ । तपाईंहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ,’ उनले भने ।

बहुमतका नेताहरूले प्रधानमन्त्री दाहालसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न मागहरू प्रस्तुत गरेको छ ।

संयोजक बाँस्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै प्रधानमन्त्री प्रचण्डले सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका अधिकांश विषय समेटिएको बताए ।

‘राष्ट्रिय पूँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ। अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु,’ प्रधानमन्त्री दाहालले भने, ‘‘जनयुद्ध, थारु, मधेसलगायत विभिन्न आन्दोलन र संघर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर छ ।

यसअघि नै अध्यादेशमार्फत विधेयक ल्याउने भनिएकोमा संसद सञ्चालन भएकोले यो विषयमा अब संसद्‍‌बाट नै विधेयक गरेर अघि बढ्छौँ ।’

 


प्रकाशित मिति : २०७९ माघ ६, शुक्रबार १५:०९

धेरै पढिएको

ताजा समाचार