राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति एवं सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् ।
उनले शुभकामना सन्देशमार्फत यस्ता चाडपर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
इसाई धर्मावलम्बीहरूद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी क्रिसमस डे मनाउने गरिएको छ । यस अवसरमा काठमाडौँ, ललितपुर, भक्तपुर र पोखरालगायत देशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी यो पर्व मनाउने गरिएको छ । राष्ट्रपति भण्डारीले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउँदै समुन्नत नेपाल निर्माण गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
–विविधताबीचको एकता नै नेपालीको पहिचान ः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले हाम्रो विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन् । इसाई धर्मावलम्बीको पर्व क्रिसमस डेको अवसरमा स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बीलाई शुभकामना दिदै उनले यस्ता पर्वले नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम राख्दै सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन् ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र रहेको स्मरण गर्दै उपराष्ट्रपतिले यस्ता पर्वले समुन्नत र समृद्ध नेपाल निर्माणमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । विभिन्न जातजाति, भाषाभाषी र धर्म संस्कृतिका समुदायको समिश्रित बसोबास रहेको उल्लेख गर्दै उनले विभिन्न समुदायको आफ्नो भाषा, धर्म, संस्कार संस्कृति रहेको तथा विविधता बीचको एकता नै नेपालीको साझा पहिचान भएको बताए ।
सन्देशमा उपराष्ट्रपतिले भनेका छन् । ‘विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता, भातृत्व र सहिष्णुता कायम गर्दै आएका छन् । हामी एकले अर्काको धार्मिक तथा सांस्कृतिक पहिचानलाई स्वीकार र सम्मान गर्न सक्नुपर्दछ । यसो गर्दा मात्र हाम्रो राष्ट्रिय एकता अझै सुदृढ् हुन सक्छ ।’
आज इसाई धर्मावलम्बीहरूले ‘क्रिसमस’ मनाउँदै : राष्ट्रपति, उपराष्ट्रपतिद्वारा क्रिसमस डेको शुभकामना
प्रकाशित मिति : २०७९ पुष १०, आईतवार ०३:२९
सम्बन्धित खवर
© 2023: Moon Light Khabar मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | Privacy Policy
Developed by: Webbank nepal