इदले ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्दछ : प्रधानमन्त्री दाहाल


काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्लिम समुदायको इद (इदउल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन्।

‘ईद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व हो । मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएका छन् ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईद लगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित छन्’, उनले शुभकामना सन्देशमा मार्फत भनेका छन्, ‘हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्व हुने गर्दछ ।

मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका छन् । ईद पनि यस्तो एउटा पर्व हो, जसले मुस्लिम समुदायको ऐतिहासिकता, पहिचान र संस्कृतिको प्रतिनिधित्व गर्दछ ।’

नेपाली जनताको लामो त्याग र बलिदानबाट निर्मित नयाँ संविधानले विविधतायुक्त नेपाली समाजको आत्मसातीकरणसहित सबै जाति, भाषा, धर्म, संस्कृति र पहिचानलाई समान संवैधानिक अधिकार प्रदान गरेको प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् ।


प्रकाशित मिति : २०८० बैशाख ९, शनिबार ०८:०९

धेरै पढिएको

ताजा समाचार