कोहलीको आक्रामक ब्याटिङमा भारतलाई कीर्तिमानी जीत, सिरिज गर्‍यो ‘क्लिन स्विप’


एजेन्सी, पाहुना टोली श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज भारतले ‘क्लिन स्विप’ गरेको छ ।

गएराति सम्पन्न तेस्रो खेलमा ३ सय १७ रनको कीर्तिमानी जीत निकाल्दै भारतले सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको हो ।

एकदिवसीय क्रिकेटमा यो कुनै पनि टिमको अहिलेसम्मकै फराकिलो जीत हो । यसअघि न्युजिल्याण्डले सन् २००८ मा आयरल्याण्डलाई २ सय ९० रनले हराएको थियो ।

भारतले न्युजिल्याण्डको १५ वर्ष पुरानो रेकर्ड तोड्दै इतिहास रचेको छ । श्रीलंकाले यसपालि पनि भारत भ्रमणमा खराब प्रदर्शन गर्‍यो ।

सिरिजको तेस्रो खेलमा भारतले दिएको ३ सय ९१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २२ ओभरमा ७३ रन बनाउँदै सबै विकेट गुमायो ।

उसका लागि नुवानिदु फर्नान्डोले १९, कप्तान दासुन शानकाले ११ र कसुन रजिथाले अविजित १३ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

भारतका लागि मोहम्मद सिराजले चार, कुलदीप यादव र मोहम्मद शामीले दुईरदुई विकेट लिए । त्यसअघि तिरुवनन्तपुरमस्थित ग्रीनफिल्ड अन्तर्राष्ट्रिय स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ९० रन बनायो ।

उसका लागि विराट कोहलीले र शुभमन गिलले शतकीय पारी खेले । ११० बलको सामना गरेका कोहलीले १३ चौका र आठ छक्कासहित अविजित १ सय ६६ रन बनाए ।

एकदिवसीयमा उनको यो ४६ औं शतक हो । त्यस्तै, गिलले ९७ बलमा १४ चौका र दुई छक्कासहित ११६ रन बनाए । एकदिवसीयमा उनको यो दोस्रो शतक हो ।

कप्तान रोहित शर्माले ४२, श्रेयस अय्यरले ३८, केएल राहुलले सात र सूर्यकुमार यादवले चार रन जोडे । श्रीलंकाका लागि कसुन रजिथा, लाहिरु कुमाराले दुईरदुई र चमिका करुणारत्नेले एक विकेट लिए ।

भारत सिरिजको पहिलो खेलमा ६७ रन र दोस्रो म्याचमा ४ विकेटले विजयी भएको थियो ।


प्रकाशित मिति : २०७९ माघ २, सोमबार ०८:५०

धेरै पढिएको

ताजा समाचार