काठमाडौं, प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेटको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । शनिबार भएको फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि उचालेको हो ।
उपाधिसँगै सुदूरपश्चिमले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
इटहरीको जनता मावि क्रिकेट मैदानमा प्रदेश-१ ले दिएको १०२ रनको लक्ष्य सुदूरपश्चिमले १ बल अगावै पूरा गरेको थियो। सुदूरपश्चिमलाई जीतका लागि अन्तिम ओभरमा ८ रन आवश्यक थियो ।
प्रदेश १ कि कप्तान रुविना क्षेत्रीलाई अन्तिम ओभरको दोस्रो बलमा कविता कुँवरले छक्का प्रहार गरिन र सुदूरपश्चिमलाइ जिताइन ।
सुरुवात राम्रो गनै नसकेको सुदूरपश्चिमको इनिङ्स मध्यक्रमका सम्झना खड्का र डली भट्टले सम्हालेका थिए । सम्झनाले ३३ बलमा २ चौकासहित अविजित २७ र डलीले १६ बलमा २ छक्कासहित २२ रनको योगदान गरिन् ।
कविता १९ रनमा अविजित रहिन् । प्रदेश १ का सवनम राई, हिरनमई रोय, रुविना क्षेत्री र संगीता राईले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ५ विकेट गुमाएर १०१ रन बनाएको थियो । ओपनर काजल श्रेष्ठ र कप्तान रुविनाले ३६ रनको सुरुवाती साझेदारी गरे ।
काजलले अविजित ४८ रन जोडिन् । यस्तै अप्सरी बेगमले १५ र रुविना क्षेत्रीले १४ रनको योगदान गरे । सुदूरपश्चिमका मनिषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिईन् ।
नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता थियो ।