पपुवा न्युगिनीसँगको खेलमा नेपालले पहिले बलिङ् गर्दै, करण केसी मैदान फर्किए


काठमाडौं, आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी पीएनजीसँगको खेलमा नेपालले पहिले बलिङ गर्दैछ ।

त्रिवी क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ् गर्ने निर्णय गरेको हो । आजको खेलमा करण केसी पनि खेल्दैछन् । गुल्सन झा को स्थानमा करणलाई खेलाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

आइतबार यूएईलाई हराएर ४ वर्षको लागि एकदिवसीय मान्यता पक्का गरेको नेपालले अब २ खेल जितेमा सिधै विश्वकप क्वालिफायर खेल्नेछ ।

नेपालले सन् २०१८ मार्च १५ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो । नेपाल ३४ खेलमा ३६ अङ्कसहित लिग–२ तालिकाको चौथो स्थानमा उक्लिएको छ । एकदिवसीय मान्यता कायम गर्न तालिकाको शीर्ष पाँचमा अट्नुपर्ने हुन्छ ।

नेपालसँगको हारसँगै यूएईले एकदिवसीय मान्यता कायम राख्न प्लेअफ क्वालिफार खेल्नुपर्नेछ । ३४ खेलमा ३१ अङ्क भएको यूएई तालिकाको छैटौँ स्थानमा छ ।

पाँचौँ स्थानमा रहेको अमेरिकाको ३६ खेलमा ३५ अङ्क छ । नामिबिया ३६ खेलमा ३९ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

लिग–२ बाट स्कटल्यान्ड ३६ खेलमा ५० अङ्क र ओमान ३६ खेलमा ४४ अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै सोझै विश्व कप खेल्नका लागि छनोट भइसकेका छन् ।


प्रकाशित मिति : २०७९ फाल्गुन २९, सोमबार ०८:४२

धेरै पढिएको

ताजा समाचार