आईपीएलमा मुम्बईविरुद्ध बैंग्लोर ८ विकेटले विजयी, विराट र फाफको सानदार ब्याटिङ


एजेन्सी, भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले विजयी सुरुवात गरेको छ ।

गएराति सम्पन्न खेलमा पाँचपटकको विजेता मुम्बई इण्डियन्सलाई ८ विकेटले हराउँदै बैंग्लोरले विजयी सुरुवात गरेको हो ।

मुम्बईले दिएको १ सय ७२ रनको लक्ष्य बैंग्लोरले १६.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि विराट कोहली र कप्तान फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले ।

४९ बलको सामना गरेका कोहलीले ६ चौका र ५ छक्कासहित अविजित ८२ रन बनाए ।

त्यस्तै, डुप्लेसिसले ४३ बलमा ६ छक्का र ५ चौकाको सहयोगमा ७३ रनको इनिङ खेले । दिनेश कार्तिक शून्यमै आउट हुँदा ग्लेन म्याक्सवेल १२ रनमा अविजित रहे । मुम्बईका लागि क्यामरुन ग्रीन र अर्शद खानले एकरएक विकेट लिए ।

त्यसअघि बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि तिलक वर्माले उत्कृष्ट पारी खेले । ४६ बलको सामना गरेका उनले ९ चौका ४ छक्कासहित अविजित ८४ रन बनाए । टी–२० क्रिकेट करियरमा तिलकको यो उच्च स्कोर हो ।

त्यस्तै, नेहल वढेराले २१, सूर्यकुमार यादवले १५ र इशान किशनले १० रन जोडे । अर्शद खानले अविजित १५ रनको योगदान दिए ।

बैंग्लोरका लागि कर्ण शर्माले दुई, मोहम्मद सिराज, माइकल ब्रेसवेल, अर्शल पटेल, आकाश दीप र रिसी टोप्लेले एकरएक विकेट लिए ।


प्रकाशित मिति : २०७९ चैत्र २०, सोमबार ०७:४७

धेरै पढिएको

ताजा समाचार