आइपीएलमा गुजरातको सानदार जीत, दिल्लीको लगातार दोस्रो हार


एजेन्सी, भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) मा गुजरात टाइटन्सले लगातार दोस्रो जीत निकालेको छ ।

दोस्रो जीत निकाल्नेक्रममा गएराति सम्पन्न खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हरायो ।

पहिलो खेलमा गुजरातले चेन्नई सुपर किंग्सलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

उसका लागि साई सुदर्शनले ४९ बलमा ४ चौका र २ छक्कासहित अविजित ६२ रन बनाए । त्यस्तै, डेविड मिलरले अविजित ३१, विजय शंकरले २९, शुभमन गिल र ऋद्धिमान साहले १४/१४ रन जोडे । दिल्लीका लागि एनरिक नोर्टजे दुई, मिचेल मार्श र खलील अहमदले एक/एक विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनायो । उसका लागि अलराउन्डर अक्षर पटेलले उत्कृष्ट पारी खेले ।

२२ बलको सामना गरेका उनले तीन छक्का र दुई चौकासहित ३६ रन बनाए । त्यस्तै, कप्तान डेविड वार्नरले ३७, सरफराज खानले ३० र अभिषेक पोरेलले २० रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । गुजरातका लागि मोहम्मद शामी, राशिद खानले तीन/तीन र अल्जारी जोसेफले दुई विकेट लिए ।

लगातार दोस्रो हार बेहोरेको दिल्ली अंक तालिकाको आठौँ स्थानमा छ । पहिलो खेलमा ऊ लखनउ सुपर जायन्ट्सँग ५० रनले पराजित भएको थियो ।

लगातार दोस्रो जीत निकालेको गुजरात ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।


प्रकाशित मिति : २०७९ चैत्र २२, बुधबार ०६:५८

धेरै पढिएको

ताजा समाचार