आइपीएलमा राजस्थानविरुद्ध पञ्जाबको रोमाञ्चक जीत


एजेन्सी, भारतमा जारी १६ औँ सिजनको ​इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा पञ्जाब किंग्सले ​लगातार दोस्रो जीत निकालेको छ ।

दोस्रो जीत निकाल्नेक्रममा पञ्जाबले गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ५ रनले हरायो । उसले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई डक वर्थ लुईस पद्धतिको आधारमा ७ रनले हराएको थियो ।

राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ७२ रनले हराए पनि दोस्रो म्याचमा भने जीत निकाल्न चुक्यो ।

पञ्जाबले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओाभरमा ७ विकेट गुमाएर १ सय ९२ रन बनायो ।

उसका लागि कप्तान सञ्जु सामसनले ४२, शिमरोन हेटमायरले ३६, ध्रुव जुरेलले अविजित ३२, देवदत्त पाडिक्कलले २१, रियान परागले २०, जोस बटलरले १९ र यशस्वी जैसवालले ११ रन बनाए । पञ्जाबका लागि नाथन एलिसले चार र अर्शदीप सिंहले दुई विकेट लिए ।

त्यसअघि गुवाहाटीस्थित बार्सपारा स्टेडियमा टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९७ रन बनायो ।

उसका लागि कप्तान शिखर धवनले सानदार ब्याटिङ गरे । उनले ५६ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै अविजित ८६ रन बनाए ।

त्यस्तै, प्रभसिमरन सिंहले पनि आक्रामक ब्याटिङ गरे । ३४ बलको सामना गरेका उनले ७ चौका र ३ छक्काको मद्दतमा ६० रन जोेडे ।

जितेश शर्माले २७ रनको योगदान दिए । राजस्थानका लागि जेसन होल्डरले दुई, रविचन्द्रन आश्विन र युजवेन्द्र चहलले एक/एक विकेट लिए ।

यो जीतसँगै पञ्जाब अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले दुई खेलबाट ४ अंक जोडेको छ । राजस्थान २ अंकका साथ चौथो स्थानमा छ ।


प्रकाशित मिति : २०७९ चैत्र २३, बिहीबार ०७:२७

धेरै पढिएको

ताजा समाचार