एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ ।
जारी सिजनमा लखनउको दोस्रो जीत हो । उसले पहिलो खेलमा दिल्लीलाई ५० रनले हराउँदा चेन्नई सुपर किंग्ससँग भने १२ रनको हार बेहोर्यो ।
तेस्रो खेलमा हैदराबादले दिएको १ सय २२ रनकोा सामान्य लक्ष्य लखनऊले १६ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो ।
उसका लागि कप्तान केएल राहुलले ३५, कृणाल पाण्ड्याले ३४ र कायल मेयर्सले १३ रन बनाए । निकोलस पूरन ११ र मार्कस स्टोइनिस ११ रनमा अविजित रहे ।
हैदराबादका लागि आदिल राशिदले दुई, उमरान मलिक, फजदहक फारुकी र भुवनेश्वर कुमारले एक/एक विकेट लिए ।
त्यसअघि लखनउस्थित अटल बिहारी वाजपेयी एकना स्टेडियममा टस जितेर ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २१ रन बनायो ।
उसका लागि राहुल त्रिपाठीले ३४, अनमोलप्रीत सिंहले ३१, अब्दुल समदले अविजित २१ र वासिङ्टन सुन्दरले १९ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
लखनउका लागि कृणाल पाण्ड्याले तीन, अमित मिश्राले दुई, रवि विश्नोई र यश ठाकुरले एक/एक विकेट लिए ।
यो जीतसँगै लखनउ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले तीन खेलबाट ४ अंक जोडेको छ ।
लगातार दोस्रो हार बेहोरेको हैदराबाद पुछारमा रहेको छ । ऊ पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।