रहाणेको उत्कृष्ट ब्याटिङमा मुम्बईविरुद्ध चेन्नईको सानदार जीत


एजेन्सी, भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले हराएको छ ।

मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य चेन्नईले १८.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि अजिंक्य रहाणेले अर्धशतकीय पारी खेले । २७ बलको सामना गरेका उनले तीन छक्का र सात चौकासहित ६१ रन बनाए ।

त्यस्तै, ऋतुराज गायकवाडले अविजित ४०, शिवम दुबेले २८ र अम्बाती रायडूले अविजित २० रनको योगदान दिए । मुम्बईका लागि कुमार कार्तिकेय, पियुष चावला र जेसन फेहनड्रफले एक/एक विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो ।

उसका लागि इशान किशसनले ३२, टिम डेविडले ३१, तिलक वर्माले २२, कप्तान रोहित शर्माले २१ र क्यामरुन ग्रीनले १२ रन बनाए ।

ऋतिक शोकिन १८ रनमा अविजित रहे । चेन्नईका लागि रवीन्द्र जडेजाले तीन, मिचेल सान्टनर, तुषार देशपाण्डेले दुई/दुई र सिसन्डा मंगलाले एक विकेट लिए ।

यो जीतपछि चेन्नई अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले तीन खेलमा ४ अंक जोडेको छ ।

पहिलो खेलमा गुजरात टाइटन्सविरुद्ध ५ विकेटले पराजित भए पनि चेन्नईले त्यसपछि भने दुई खेलमा लगातार जीत निकाल्यो ।

अंकविहीन मुम्बई सातौँ स्थानमा छ । ऊ पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग ८ विकेटले पराजित भएको थियो ।


प्रकाशित मिति : २०७९ चैत्र २६, आईतवार ०८:१६

धेरै पढिएको

ताजा समाचार