लखनउ आइपीएलको शीर्ष स्थानमा, सातौँ स्थानमा झर्‍यो बैंग्लोर


एजेन्सी, भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले तेस्रो जीत निकालेको छ ।

तेस्रो जीत हात पार्नेक्रममा लखनउले सोमबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई एक विकेटले हरायो ।

यो जीतपछि लखनउ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ६ अंक जोडेको उसले चार म्याच खेल्दा एक खेलमा मात्र हार बेहोरेको छ । लखनउले पहिलो खेलमा दिल्लीलाई ५० रन हरायो ।

दोस्रो खेलमा चेन्नईविरुद्ध १२ रनको हार बेहोर्दा तेस्रो खेलमा भने उसले हैदराबादलाई ५ विकेटले हराएको थियो । लखनउसँगको अप्रत्याशित हारपछि बैंग्लोर भने अंक तालिकाको सातौँ स्थानमा झरेको छ ।

बैंग्लोरले पहिलो खेलमा पाँचपटकको च्याम्पियन मुम्बईलाई ८ विकेटले हराउँदै सानदार सुरुवात गर्‍यो । तर, दोस्रो खेलमा ऊ कोलकातासँग ८१ रनले स्तब्ध भयो । बैंग्लोरले आफ्नो चौथो खेलमा शनिबार दिल्लीको सामना गर्नेछ ।

बैंग्लोरविरुद्धको लखनउको जीतमा मार्कस स्टोइनिस र निकोलस पूरनले आक्रामक पारी खेले । ३० बलको सामना गरेका स्टोइनिसले ६ चौका र ५ छक्कासहित ६५ रन बनाए ।

त्यस्तै, पूरनले १९ बलमा ७ छक्का र ४ चौकाको मद्दतमा ६२ रनको विस्फोटक इनिङ खेले । आयुष बदोनीले ३० र कप्तान केएल राहुलले १८ रन जोडे ।

बैंग्लोरका लागि वेन पार्नेल, मोहम्मद सिराजले तीनरतीन, हर्षल पटेलले दुई र कर्ण शर्माले एक विकेट लिए ।

त्यसअघि बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोरले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १२ रन बनायो ।

उसका लागि कप्तान फाफ डु प्लेसिस, विराट कोहली र ग्लेन म्याक्सवेलले सानदार ब्याटिङ गरे । ४६ बलको सामना गरेका डु प्लेसिसले ५ छक्का र ५ चौकासहित अविजित ७९ रन बनाए ।

त्यस्तै, कोहलीले ४४ बलमा ४ छक्का र ४ चौकासहित ६१ रनको इनिङ खेले । म्याक्सवेलले २९ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ५९ रनको योगदान दिए ।

लखनउका लागि मार्क वुड र अमित मिश्राले मात्र एक/एक विकेट लिन सके । लखनउले आफ्नो चौथो खेलमा शनिबार पञ्जाब किंग्सविरुद्ध खेल्ने तालिका छ ।


प्रकाशित मिति : २०७९ चैत्र २८, मंगलवार ०८:४२

धेरै पढिएको

ताजा समाचार