राजस्थान आइपीएलको शीर्ष स्थानमा, धोनीको चेन्नई ३ रनले पराजित


एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्सविरुद्ध राजस्थान रोयल्सले ३ रनको रोमाञ्चक जीत निकालेको छ । जारी सिजनमा राजस्थानको यो तेस्रो जित हो ।

चेन्नईको भने यो दोस्रो हार हो । आफ्नो चौथो खेलमा राजस्थानले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७२ रन मात्र बनाउन सक्यो ।

उसका लागि डेभन कन्वेले ३८ बलमा ६ चौकासहित ५० रन बनाए । त्यस्तै, कप्तान महेन्द्रसिंह धोनीले १७ बलमा तीन छक्का र एक चौकासहित अविजित ३२ रन बनाए पनि टोलीलाई जित दिलाउन भने सकेनन् ।

१५ बलमा दुई छक्का र एक चौकासहित रवीन्द्र जडेजा २५ रनमा अविजित रहे । अजिंक्य रहाणेले ३१ रन बनाउँदा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

राजस्थानका लागि रविचन्द्रन आश्विन, युजवेन्द्र चहलले दुईरदुई तथा एडम जम्पा र सन्दीप शर्माले एकरएक विकेट लिए ।

त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनायो । उसका लागि ओपनर जोस बटलरले अर्धशतकीय पारी खेले ।

३६ बलको सामना गरेका उनले तीन छक्का र एक चौकाको मद्दतमा ५२ रन बनाए । देवदत्त पाडिक्कलले ३८, रविचन्द्रन आश्विनले ३० र यशस्वी जैसवालले १० रन जोडे । शिमरोन हेटमायरले १८ बलमा २ छक्का र २ चौकासहित ३० रनको इनिङ खेले ।

चेन्नईका लागि रवीन्द्र जडेजा, तुषार देशपाण्डेले दुईरदुई, आकाश सिंह र मोइन अलीले एकरएक विकेट लिए । यो जितपछि अंकका साथ राजस्थान तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

गत संस्करण उपविजेता राजस्थानले चार म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ ।

राजस्थानले जारी प्रतियोगितामा सनराइजर्स हैदराबादलाई ७२ रनले हराउँदै विजयी सुरुवात गरेको थियो ।

दोस्रो खेलमा पञ्जाब किंग्ससँग ५ रनले हारेको राजस्थानले तेस्रो म्याचमा भने दिल्ली क्यापिटल्सविरुद्ध ५७ रनको फराकिलो जीत निकाल्यो ।

चेन्नई ४ अंकका साथ तालिकाको पाँचौँ स्थानमा छ । ऊ पहिलो खेलमा गुजरात टाइटन्ससँग ५ विकेटले पराजित भएको थियो ।

दोस्रो र तेस्रो खेलमा भने चेन्नईले उत्कृष्ट कमब्याक गर्‍यो । उसले दोस्रो खेलमा लखनउ सुपर जायन्ट्सलाई १२ रन तथा तेस्रो खेलमा मुम्बई इण्डियन्सलाई ७ विकेटले हराएको थियो ।


प्रकाशित मिति : २०७९ चैत्र ३०, बिहीबार ०७:४६

धेरै पढिएको

ताजा समाचार