एसीसी प्रिमियर कपमा सहभागी हुने नेपाली टोलीको घोषणा


काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोली घोषणा गरेको छ।

क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा प्रिमियर कप खेल्ने १४ सदस्यीय टोली घोषणा गरेको हो।

टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिश जीसी, ज्ञानेन्द्र मल्ल, ललित राजवंशी, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने रहेका छन्।

यस्तै, सूर्य तामाङ, अर्जुन साउद, सन्दीप जोरा र किशोर महतो भने वैकल्पिक खेलाडीको रूपमा रहेका छन्।

वैशाख ५–१८ गतेसम्म नेपालमा आयोजना हुने प्रतियोगिता त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानामा सञ्चालन हुनेछ।

वैशाख १८ गते हुने फाइनल खेल त्रिवि मैदानमा खेलाइनेछ। प्रतियोगितामा सहभागी भएका कुल १० राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ।

नेपाल, मलेसिया, साउदी अरेबिया, कतार र ओमान समूह ‘ए’ मा रहेका छन्। समूह ‘बी’ मा भने बहराइन, कुवेत, युएई, हङकङ, सिंगापुर र कुवेत रहेका छन्।

वैशाख ५ गते त्रिवि मैदानमा हुने पहिलो खेलमा नेपाल र मलेसिया आमने सामने हुनेछन्। वैशाख ८ मा त्रिवि मैदानमा नै हुने खेलमा ओमान र नेपाल भिड्नेछन्।

मुलपानी मैदानमा हुने खेलमा नेपाल र साउदी अरेबिया वैशाख ११ गते प्रतिस्पर्धा गर्नेछन्। नेपालले त्रिवि मैदानमा वैशाख १४ गते कुवेतसँग प्रतिस्पर्धा गर्नेछ।

दुवै समूहको शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्। फाइनलमा उपाधि जित्ने टोली भने एसिया कपको लागि छनोट हुनेछ। यस्तै, शीर्ष ३ मा पर्न सफल टोली एसिया इमर्जिङ कपका लागि छनोट हुनेछ।


प्रकाशित मिति : २०८० बैशाख ४, सोमबार ०८:०६

धेरै पढिएको

ताजा समाचार