एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल( क्रिकेटअन्तर्गत गत संस्करण विजेता गुजरात टाइटन्सविरुद्ध राजस्थान रोयल्स ३ विकेटले विजयी भएको छ ।
गएराति सम्पन्न खेलमा गुजरातले दिएको १ सय ७८ रनको लक्ष्य राजस्थानले १९।२ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानको जितमा कप्तान सञ्जु सामसन र शिमरोन हेटमायरले अर्धशतकीय पारी खेले । ३२ बलको सामना गरेका सामसनले ६ छक्का र ३ चौकाको सहयोगमा ६० रन बनाए ।
त्यस्तै, हेटायरले २५ बलमा ५ छक्का र २ चौकासहित अविजित ५६ रनको इनिङ खेले । देवदत्त पाडिक्कलले २६, ध्रुव जुरेलले १८ र रविचन्द्रन आश्विनले १० रन जोडे ।
गुजरातका लागि मोहम्मद शामीले तीन, राशिद खानले दुई, नूर अहमद र कप्तान हार्दिक पाण्ड्याले एकरएक विकेट लिए ।
यो जितसँगै राजस्थान ८ अंकका साथ तालिकाको शीर्ष स्थानमा कायमै छ । उसले ५ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ ।
तेस्रो स्थानमा रहेको गुजरातले ५ खेलमा तीनमा जीत र २ खेलमा हार बेहोरेको छ ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको घरेलु टोली गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।
उसका लागि डेविड मिलरले ३० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । अभिनव मनोहरले १३ बलमा ३ छक्काको मद्दतमा २७ रन बनाए ।
शुभमन गिलले ४५, हार्दिक पाण्ड्याले २८ र साई सुदर्शनले २० रन जोडे । राजस्थानका लागि सन्दीप शर्माले दुई, युजवेन्द्र चहल, एडम जम्पा र ट्रेन्ट बोल्टले एक/एक विकेट लिए ।