एसीसी प्रिमियर कप आजबाट शुरु, उदघाटन खेलमा नेपालले मलेसियासँग खेल्दै


काठमाडौं, एसियाली क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कप क्रिकेट आज मङ्गलवारदेखि नेपालमा सुरु हुँदैछ ।

नेपालसहित १० वटा देशले खेल्ने प्रतियोगिताका खेलहरू त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

पहिलो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

मलेसियासँगका पछिल्ला पाँच वटा खेलमा नेपाल सबैमा विजयी भएको छ । आजको अर्को खेलमा हङकङ र सिङ्गापुरले मुलपानी मैदानमा खेल्नेछन् ।

सोमबार भएको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले एसीसी प्रिमियर कप जित्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने उच्च सम्भावना रहेको दाबी गरेका छन् ।

विश्व कप क्रिकेट लिग–२ मा पाएको सफलता र पछिल्लो १५ दिनको अभ्यास हेर्दा नेपालले एसिया कप खेल्ने सम्भावना आफूले देखेको रोहितको भनाइ छ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुबेत, सिङ्गापुर र बहराइन छन् ।

प्रिमियर कपको उपाधि जित्ने टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

 


प्रकाशित मिति : २०८० बैशाख ५, मंगलवार ०७:४५

धेरै पढिएको

ताजा समाचार