नेपालले ५०औँ ओडीआई ओमानसँग खेल्दै, सन्दीपलाई विश्वकीर्तिमान बनाउने मौका


काठमाडौ, काठमाडौंमा जारी एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा घरेलु टोली नेपालले आज ओमानसँग खेल्दैछ ।

समूह ‘ए’ अन्तर्गत नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

नेपालका लागि यो ५० औँ ओडिआई खेल हो । नेपालले पहिलो ओडीआई खेल १ अगस्ट २०१८ मा घरेलु मैदानमा नेदरल्यान्ड्ससँग खेलेको थियो ।

ऐतिहासिक खेल आफ्नो पक्षमा पार्दै नेपाल लगातार दोस्रो जीतको खोजीमा छ । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो ।

ओमान पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । उसले अघिल्लो खेलमा कतारलाई ४० रनले हराएको थियो ।

नेपालले अभ्यास खेलमा ओमानविरुद्ध ५ विकेटको जीत निकालेको थियो । शुक्रबार पनि नेपाल ओमानविरुद्ध सोही लय दोहोर्याउन चाहन्छ ।

हेड टु हेड

एकदिवसीय मान्यता प्राप्तपछि नेपालले ओमानसँग ६ खेल खेलेको छ । जसमा नेपालले २ मा जीत र ४ खेलमा हारको सामना गरेको छ ।

विगतमा खराब प्रदर्शन गरेपनि पछिल्लो समय भने नेपालले ओमानलाई हराइरहेको छ । अन्तिमपटक गत वर्षको जुनमा भएको खेलमा नेपालले ओमानविरुद्ध १३ रनको जीत निकालेको थियो ।

घरेलु मैदानमा खेल्न लागेकाले यसपटक पनि नेपाललाई ओमानविरुद्ध जीत हात निकाल्ने सुनौलो मौका छ । यद्यपि नेपाली भूमिमा ओमानको विगत प्रदर्शन पनि राम्रो छ ।

प्लेइङ–११ मा एक परिवर्तनको सम्भावना

ओमानविरुद्धको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले आज युवा अलराउन्डर गुलशन झाको स्थानमा करण केसीलाई खेलाउन सक्छ ।

ओमानविरुद्ध करणको प्रदर्शन उत्कृष्ट रहेको छ । उनी ओमानविरुद्ध ओडीआईमा सर्वाधिक विकेट लिने बलर हुन् ।

हालसम्म करणले ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेलमा ४.७८ को इकोनमीमा २० विकेट लिएका छन् ।

पहिलो खेलमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गरेकाले ओमानविरुद्ध पनि ज्ञानेन्द्र मल्लले भने मौका पाउने सम्भावना कम छ ।

सन्दीपलाई विश्वकीर्तिमान बनाउने मौका

नेपाली टोलीका प्रमुख बलर सन्दीप लामिछानेलाई आज विश्वकीर्तिमान बनाउने मौका छ । यदि ओमानविरुद्ध एक विकेट मात्र हात पार्न सके उनी ओडीआईमा छिटो १ सय विकेट लिने बलर बन्नेछन् ।

हालसम्म ओडीआईमा सर्वाधिक छिटो १ सय विकेट लिने रेकर्ड अफगानिस्तानका चर्चित स्पिनर राशिद खानको नाममा छ ।

उनले ४४ खेलमा यो उपलब्धि हासिल गरेका थिए । सन्दीपलाई भने ४२ ओडीआई खेलमै १०० विकेट लिने मौका छ ।


प्रकाशित मिति : २०८० बैशाख ८, शुक्रबार ०७:३२

धेरै पढिएको

ताजा समाचार