एजेन्सी, भारतमा जारी आइपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले पहिलो जीत निकालेको छ । गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई ४ विकेटले हराउँदै दिल्लीले ६ खेलमा पहिलो जीत निकालेको हो ।
कोलकाताले दिएको १ सय २८ रनको लक्ष्य दिल्लीले १९.२ अोरभमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि कप्तान डेविड वार्नरले ४१ बलमा ११ चौकासहित सर्वाधिक ५७ रन बनाए ।
त्यस्तै, मनिष पाण्डेले २१, अक्षर पटेलले अविजित १९ र पृथ्वी शाले १३ रनको योगदान दिए । कोलकाताका लागि वरुण चक्रवर्ती, अनुकूल रोय र नितिश राणाले दुईरदुई विकेट लिए ।
त्यसअघि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाता १ सय २७ रनमै समेटियो । उसका लागि जेसन रोयले ४३, आन्द्रे रसेलले अविजित ३८ र मन्दीप सिंहले १२ रन बनाए ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । दिल्लीका लागि इशान्त शर्मा, अक्षर पटेल, कुलदीप यादव, एनरिक नोर्टजेले दुई/दुई र मुकेश कुमारले एक विकेट लिए ।
२ अंक जोडेको दिल्ली पुछारमै छ । आठौँ स्थानमा रहेको कोलकाताको ६ खेलबाट ४ अंक छ । उसले ६ मध्ये ४ मा हार तथा दुई खेलमा जीत हात पारेको छ ।