एसीसी प्रिमियर कपमा नेपालको कीर्तिमानले भरिएको जीत


काठमाडौं, एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो तथा कीर्तिमानले भरिएको जीत निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको हो। यससँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ।

३११ रनको लक्ष्य पछ्याएको ओमान ४६।३ ओभरमा २२६ रनमा अलआउट भयो। अकिब इलियास घाइते भएर मैदानमा नआएसँगै रिटायर्ट आउट भएपश्चात नेपालले जितेको हो।

ओमानको लागि मोहम्मद नदीमले ६५ र सन्दीप गौडले ४६ रन जोडे।

ओमानलाई प्याक गर्न नेपालका सन्दीप लामिछानेले र करन केसील ३–३ तथा दीपेन्द्रसिंह ऐरीले २ तथा, ललित राजवंशी र सोमपाल कामीले १–१ विकेट लिए।

पहिलो विकेट लिएसँगै सन्दीपले ४२ एकदिवसीय खेलमा सबैभन्दा छिटो १०० विकेट पुुरा गर्ने खेलाडी बने।

सन् २०१८ मा वेस्टइन्डिजविरुद्ध अफगानिस्तानका राशिद खानले बनाएको ४४ खेलमा १०० विकेट पुरा गर्दै बनाएको विश्व कीर्तिमान सन्दीपले तोडेका हुन्।

पहिले ब्याटिङ गरेको नेपालले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा ३१० रन बनाएको हो।

घरेलु मैदानमा भएको एकदिवसीयमा नेपालले दिएको यो अहिलेसम्म कै उच्च लक्ष्य हो। यसअघि लिग–२ मा नेपालले पीएनजीविरुद्ध २९७ रनको लक्ष्य दिएको हो।

५० औँ एकदिवसीय खेलमा नेपालको लागि विष्फोटक ब्याटिङ गरेका कुशल मल्लले शतकीय पारी खेले। कुशलले ६४ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १०८ रनको योगदान गरे।

उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पुरा गरे। यो उनको पहिलो शतक हो। १९ वर्षीय कुशल एकदिवसीयमा शतक प्रहार गर्ने छैँटौँ खेलाडी बनेका छन्।

यस्तै, सोमपाल कामीले अविजित ६३ रन जोडे। उनले ३९ बलमा ७ चौका प्रहार गर्दै सोमपालले अर्धशतक पुरा गरे। यो उनको व्यक्तिक दोस्रो अर्धशतक हो।

करन केसी भने २९ रनमा अविजित रहे।

पहिलो २७ बलमा ओपनरद्धय आसिफ शेख र कुशल भूर्तेल शून्य रनमा आउट भए। लडखडाएको नेपाली ब्याटिङलाई भीम शार्कीले सम्हालेका थिए।

२८ औँ बलमा भीमले नेपालको लागि पहिलो रन जोडे। उनले बिलाल खानको पाँचौँ ओभरको चौथो बलमा मिडअफ सट प्रहार गर्दै नेपालको लागि पहिलो रन जोडे।

भीमलाई साथ दिएका रोहित पौडेललाई भने १७।१ ओभरमा फय्याजले २३ रनमा आउट गरे। यसलगतैँ भीमलाई क्रिजमा साथ दिन आरिफ शेखको आगमन भयो।

२०ं।३ ओभरमा जिशान मक्सूदले भीमलाई ३३ रनमा आउट गरे। सन्दीप लामिछानेले ८ रन र दीपेन्द्र सिंह ऐरीले भने ७ रन जोडे।

ओमानको लागि आयान खानले २ तथा जतिन्दर सिंह, बिलाल खान र जीशान मक्सूदले १–१ विकेट लिए।

 


प्रकाशित मिति : २०८० बैशाख ८, शुक्रबार १९:११

धेरै पढिएको

ताजा समाचार