जडेजा र कन्वे चम्किँदा हैदराबादविरुद्ध चेन्नईको सानदार जीत


एजेन्सी, भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ ।

हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नईले १८.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि डेभन कन्वेले अर्धशतकीय पारी खेले । ५७ बलको सामना गरेका उनले १२ चौका र १ छक्कासहित अविजित ७७ रन बनाए ।

त्यस्तै, ऋतुराज गायकवाडले ३५, अजिंक्य रहाणे, अम्बाती रायडूले ९र९ र मोइन अलीले अविजित ६ रन जोडे । हैदराबादका लागि मयंक मार्कन्डेले मात्र २ विकेट लिन सकेन ।

त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनायो ।

उसका लागि अभिषेक शर्माले ३४, राहुल त्रिपाठीले २१, ह्यारी ब्रुकले १८, हेनरिक क्लासेन, मार्को जेनसनले १७/१७ र कप्तान एडन मार्कमले १२ रन बनाए ।

चेन्नईका लागि रवीन्द्र जडेजाले तीन, आकाश सिंह, माथीशा पाथिराना र महेश थिक्क्षणाले एक/एक विकेट लिए ।

यो जीतपछि ६ खेलबाट ८ अंक जोडेको चेन्नई तेस्रो स्थानमा उक्लिएको छ । उसले ६ मध्ये ४ मा जीत र २ खेलमा हारको सामना गरेको छ ।

पराजित हैदराबाद ४ अंकसहित नवौँ स्थानमा छ । उसले ६ खेल खेल्दा ४ मा हार तथा २ खेलमा मात्र जीत हात पारेको छ ।


प्रकाशित मिति : २०८० बैशाख ९, शनिबार ०८:१६

धेरै पढिएको

ताजा समाचार