नेपालको जितमा हिरो बने सन्दीप, सबैलाई पछि पार्दै बने प्लेयर अफ द म्याच


काठमाडौँ, नेपालका स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कपमा कतार विरुद्धको खेलको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

बिहीबार टियु क्रिकेट मैदानमा भएको खेलमा उत्कृष्ट प्रदर्शन गरेसंगै लामिछाने उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

नेपालले समूह चरणको अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दा सन्दीपले उत्कृष्ट अल राउण्ड प्रदर्शन गरे। सो प्रदर्शनकै कारण उनी प्लेयर अफ द म्याच चुनिए।

उनले सानदार अलराउन्ड प्रदर्शन गरे। नेपाल धरापमा परेको समयमा उनले उत्कृष्ट ब्याटिङ गरेका थिए। नेपालका लागि उनले ५८ बलमा ६ चौसहित सर्वाधिक ४२ रन बनाएका थिए।

सन्दीपको यो कुनैपनि अन्तर्राष्ट्रिय खेलको उच्च प्रदर्शन हो। लामिछानेले अहिले सम्म इन्टरनेसनल खेलमा यति धेरै रन बनाएका थिएनन्, यो उनको व्यक्तिगत रेकर्ड नै हो।

यसअघि सन्दीपले टियु क्रिकेट मैदानमै २०१९ नोभेम्बरमा मेरिलेबोन क्रिकेट क्रिकेट क्लब (एमसिसी) विरुद्ध उच्च रन बनाएका थिए।

त्यसबेला सन्दीपले ३९ रन बनाएका थिए। उनले सो खेलमा २१ बलमा २ चौका र ४ छक्का प्रहार गरेका थिए।

लामिछानेले बलिङ पनि उत्कृष्ट गरे। लामिछानेले कतारको ५ विकेट लिएका थिए। ९.१ ओभर बलिङ गर्दा मात्र १४ रन खर्चिएर कतारको ५ विकेट लिए।

नेपालका लागि ललितनारायण राजवंशीले दुई विकेट लिँदा सोमपाल कामीले ३ विकेट लिए।

कतारलाई सस्तैमा अल आउट गर्न सन्दीपले सबै भन्दा महत्वपूर्ण भूमिका निभाए। उनले ५ महत्वपूर्ण विकेट लिँदा नेपालको जीत पक्का भयो।

यस जीतसंगै नेपाल समूह विजेता बन्न सफल भएको छ। नेपाल ४ खेलमा ३ मा जीत र १ मा अंक बाँड्दै ७ अंक बनायो।

ओमान ४ खेलमा ३ मा जीत र १ खेलमा हारका साथ ६ अंकका साथ दोस्रो स्थानमा रहन बाध्य भयो। अब नेपालले अर्को समूहको उपविजेतासँग खेल्नेछ।


प्रकाशित मिति : २०८० बैशाख १५, शुक्रबार ०७:१२

धेरै पढिएको

ताजा समाचार