सूर्यको शतकमा श्रीलंकासँगको टी–२० सिरिज भारतले जित्यो


एजेन्सी, श्रीलंकाविरुद्धको टी–२० सिरिज घरेलु टोली भारतले जितेको छ । गएराति सम्पन्न तेस्रो खेलमा श्रीलंकालाई ९१ रनले हराउँदै भारतले सिरिज २–१ ले जितेको हो । श्रीलंका भने यसपटक पनि भारतमा टी–२० सिरिज जित्न चुक्यो । तेस्रो खेलमा भारतले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा १३७ रनमै अलआउट भयो । उसका लागि कप्तान दासुन शानका, कुशल मेन्डिसले २३/२३, धनन्जय डिसिल्भाले २२, चरित अशलंकाले १९ र पथुम निशांकाले १५ रन बनाए । भारतका लागि अर्शदीप सिंहले तीन, हार्दिक पाण्ड्या, उमरान मलिक, युजवेन्द्र चहलले दुई/दुई तथा अक्षर पटेलले एक विकेट लिए । त्यसअघि राजकोटस्थित सौराष्ट्र क्रिकेट संघ स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनायो । उसका लागि मध्यक्रमका ब्याटर सूर्यकुमार यादवले शतकीय पारी खेले । उनले ५१ बलमा ९ छक्का र सात चौकाको मद्दतमा अविजित ११२ रन बनाए । टी–२० अन्तर्राष्ट्रियमा उनको यो तेस्रो शतक हो । त्यस्तै, शुभमन गिलले ४६, राहुल त्रिपाठीले ३५ र अक्षर पटेलले अविजित २१ रन जोडे । श्रीलंकाका लागि दिलशान मदुशंकाले दुई, वानिन्दु हसरंगा, चमिका करुणारत्ने र कसुन रजिथाले एकरएक विकेट लिए । सिरिजको पहिलो खेलमा भारत २ रनले विजयी भएको थियो । दोस्रो खेल भने श्रीलंकाले १६ रनले जितेको थियो ।


प्रकाशित मिति : २०७९ पुष २४, आईतवार ०२:३३

धेरै पढिएको

ताजा समाचार