नेपाल टी–२० लिग : एलिमिनेटर खेलमा काठमाडौं र विराटनगर खेल्दै


काठमाडौ, राजधानीमा जारी पहिलो सिजनको नेपाल टी–२० लिगमा आज हुने एलिमिनेटर खेलमा काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ बजेबाट सुरु हुनेछ । आज विजयी हुने टिमले दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सको सामना गर्नेछ । जनकपुर पहिलो क्वालिफायरमा लुम्बिनी अल स्टार्ससँग ६ रनले पराजित भएको थियो । आज पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ । विराटनगर तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको थियो । उसले पहिलो चरणमा १० म्याचमा पाँचमा जीत र पाँच खेलमा हार बेहोर्‍यो । त्यस्तै, चौथो स्थानमा रहँदै प्लेअफको यात्रा गरेको काठमाडौंले १० म्याचमा ६ मा हार र चार खेलमा जीत निकाल्यो । समूह चरणअन्तर्गत अन्तिम खेलमा रोहित पौडेल कप्तानीको विराटनगरले काठमाडौंलाई ७ विकेटले हराएको थियो । ऊ आज पनि सोही लय कायम राख्न चाहन्छ । ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौं अघिल्लो खेलको बदला लिँदै क्वालिफायरको यात्रा तय गर्न चाहन्छ । पहिलो संस्करणको लिग विजेताले ५५ लाख तथा उपविजेता टिमले ३० लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै, तेस्रो हुने टिमले १० लाख तथा चौथो स्थान हासिल गर्ने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।


प्रकाशित मिति : २०७९ पुष २५, सोमबार ०२:४४

धेरै पढिएको

ताजा समाचार